यातायात व्यवस्था कार्यालय, साना/ठुला सवारी, एकान्तकुना, ललितपुर ।

सवारी तथा यातायातको कार्य व्यवस्थित रुपले सञ्चालन गर्ने सिलसिलामा वि.सं. २०४१ साल वैशाखमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्थापनको कार्य गर्ने जिम्मेवार निकायको रुपमा यातायात व्यवस्था विभागको गठन भएसगैँ विभागको मातहतमा रहने गरी बागमती अञ्चल यातायात व्यवस्था कार्यालय, ललितपुरको स्थापना भएको हो। शुरुवातमा यस कार्यालयबाट भाडाका सवारी साधनहरुलाई इजाजत दिने कार्य गरिए तापनि मिति २०४६/०१/२८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी कार्यालयबाट हुने गरेका सवारी साधन दर्ता, सवारी दर्ता प्रमाणपत्र नवीकरण, सवारी जाँचपास सम्बन्धी कार्यहरु यस कार्यालयबाट हुने गरेको छ।

त्यसपछि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ एवं सवारी तथा यातायात व्यवस्था नियमावली, २०५० र यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० बमोजिम सवारी तथा यातायात व्यवस्थापनसँग सम्बन्धित सवारी दर्ता, सवारी दर्ता प्रमाणपत्र (नवीकरण) नामसारी, रुट इजाजत, प्रदुषण परीक्षण, सवारी जाँचपास लगायतका कार्यहरु यस कार्यालयबाट सम्पादन हुदैँ आइरहेको थियो।

वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भएसँगै मुलुक संघीय शासनमा प्रवेश गरे पश्चात् संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभाग मातहत रहेकोमा नेपाल सरकार(मा.मन्त्रीस्तर)को मिति २०७५/०८/२० को निर्णयानुसार मिति २०७५/०८/२८ गतेदेखि तत्-तत् प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत् तत् तत् प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण भएको र बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०८/१५ को निर्णयानुसार श्रम, रोजगार तथा यातायात मन्त्रालयको गठन भई सोही अन्तर्गत रहेको थियो ।

हाल बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८३/०१/२२ को निर्णयानुसार २०८३ साउन १ गते देखि लागू हुने गरी पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण बमोजिम हाल मन्त्रालयको संख्या ८ कायम भै यस कार्यालय उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गत रही प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ तथा प्रचलित ऐन कानून बमोजिम सवारी तथा यातायात व्यवस्थापनसँग सम्बन्धित कार्यसम्पादन गर्दै आइरहेको छ ।